केरुङ हुंदै सेनालाई आयो ३० ट्रक सैन्य सहयोग, काठमाडौंमा सैन्य अभ्यास जारी


काठमाडौं– चिनियां राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणपूर्व चीनले नेपाली सेनालाई ठुलो मात्रामा सैनिक सहयोग हस्तान्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा गत असारमा एक साता लामो चीन भ्रमणमा जांदा सैनिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

चिनले २३ करोड ९५ लाख ५० हजार बरावरको सैनिक सहयोग नेपाली सेनालाई हस्तान्तरण गरेको हो । सम्झौताबमोजिम सहायता सामाग्री केरुङ हुंदै ३० ट्रक काठमाडौं पुगेको हो । सैनिक सामाग्री नेपाली सेनाका ट्रकमा लोड गरेर केरुङबाट शनिवार सांझ काठमाडौं पुगेको सैनिक स्रोतको दावी छ ।

चिनियां जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्र्तगत प्रदान भएको १५० मिलियन आरएमबी बराबरको सामग्रीहरु (हेवि मेकानिकल व्रिज,एक्सप्लोसिभ ओर्डेनेन्श डिसपोजल, इन्जिनियरिङ्ग सामाग्री र रेसक्यु किट तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त भएको बताइएको छ ।

चीनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार ०१ गतेदेखि ७ सम्म चीन भ्रमणमा गएका प्रधानसेनापति थापाले बेइजिङ्गमा चिनियां सेनाका चिफ अफ जोइन्ट स्टाफ एवंम् केन्द्रिय सैनिक आयोगका सदस्य जनरल ली जुछेङ्ग र रक्षामन्त्री वेई फेंगेंसंग भेटवार्ता गरेका थिए ।

चीन र नेपालबीच पछिल्लो समय सैनिक सम्बन्ध समुधुर हुंदै गएको छ । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास गत बुधबारबाट काठमाडौंमा सुरु भएको छ।सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ नामाकरण गरिएको उक्त अभ्यास भदौ २४ सम्म चल्ने सेनाले जनाएको छ ।

नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु भएको हो । उक्त अभ्यास भक्तपुरको नगरकोटमा समेत गर्ने सेनाको तयारी छ । सैन्य अभ्यासमा दुवै देशका महासेनानीको नेतृत्वमा २२ \२२ जना सहभागी छन्।

सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। दुवै देशका सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement