काठमाडौं – नेपाल–चीनबीच भएको द्विपक्षीय वार्तामा विभिन्न विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उच्च स्तरिय वार्तामा विभिन्न १८ वटा समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न २० वटा सहमति तथा सम्झौता भएको हो । आज भएको हस्ताक्षर कार्यक्रममा दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ । त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ ।
यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।
नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ । हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरे ।




प्रतिक्रिया