सकियो नेकपाको पहिलो बैठक, भ्रस्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भए ओली-प्रचण्ड

सकियो नेकपाको पहिलो बैठक, भ्रस्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भए ओली-प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले संघदेखि स्थानीय तहसम्म सुशासनलाई उच्च प्राथमिकता राख्ने निर्णय गरेको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको बिहीबार नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले सुशासनलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको हो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रदेखि स्थानीय तहसम्म पारदर्शी ढंगले अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरे। उनीहरुले केन्द्रबाटै भ्रष्टाचार नगर्ने र स्थानीय तहसम्म यसलाई कार्यान्वयनमा लैजाने बताए।

संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भष्टाचार नगर्ने, हुन नदिने र भएमा तत्काल कारबाही गर्ने मुख्य कार्यसूची रहेको दुबै अध्यक्षले निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सुशासन नभएमा देश समृद्ध हुनै नसक्ने भन्दै दुर्इ अध्यक्षले सबै केन्द्रीय सदस्यलाई सुशासनमा आफ्नो तहबाटै काम गर्न आग्रह गरेका थिए।

नवगठित नेकपामा ४ सय ४१ जना केन्द्रीय सदस्य छन्। बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकको प्रतिलिपी बुझाउने काम पनि सम्पन्न गरिएको छ।

निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको नामावली बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।