होला त नेकपा संकटको समाधान स्थायी कमिटी बैठकबाट ?

होला त नेकपा संकटको समाधान स्थायी कमिटी बैठकबाट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि नेकपा विवाद स्थायि कमिटिमा लैजाने निर्णय भएको थियो । अब उक्त बैठकमै पार्टीको संकट त्यसको निवारण र निकासको सम्बन्धमा छलफल हुने बताइएको छ । यसअघि १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सचिवालय बैठक लम्बिएपछि २१ गतेका लागि सारिएको थियो ।

स्थायी कमिटी बैठक लगत्तै मंसिर २५ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको छ । शनिबार बसेको बैठकमा छलफल पार्टीको स्वभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो । तर, पनि छलफलले निष्कर्ष निकाल्न सकेन ।

के हो नेकपाभित्रको  विवाद

कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा दुई अध्यक्षबीच ‘आरोप–प्रत्यारोप’ र व्यङ्ग्य वाण मात्र चलेको थियो । प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ । उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप–पत्र’को संज्ञा दिएका छन् ।

प्रचण्डको प्रतिवेदनको जवाफस्वरुप प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ ।

ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन् । प्रचण्डले भने ओलीको एकल निर्णयले पार्टी र सरकार नचल्ने भन्दै आफ्नो अडानबाट पछि नहट्ने प्रष्ट पारेका छन् । यही विवाद अब स्थायी कमिटीमा पुगेको हो ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयको संवाद ठप्प हुँदा दुवै अध्यक्ष निकटका नेताहरुको भने दौडधुप नै चलेको छ । पार्टी विवाद समाधानको विषयमा छलफलका लागि प्रचण्ड निवास खुमलटारमा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल खुमलटार पुगेका थिए ।

खुमलटार पुगेका ओली निकट नेताले दुवै प्रस्तावको अध्ययन गरेर साझा प्रस्ताव बैठकमा पेश गर्नुपर्ने कुरामा जोड दिएका थिए । दुई अध्यक्षको प्रतिवेदन समेटेर साझा प्रस्ताव बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावलाई सचिवालय बैठकले अस्वीकार गरेको छ ।

सचिवालय बैठकमा दुवै प्रस्तावलाई एक बनाउन कार्यदल बनाउने प्रस्ताव रामबहादुर थापा बादलले राखेका थिए । त्यसलाई समर्थन गर्दै ओलीले वामदेव गौतमलाई संयोजक बन्न पनि प्रस्ताव गरेका थिए । महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले पनि यो प्रस्तावलाई समर्थन गरेका थिए ।

तर, सचिवालयका अरू सदस्यसहित स्वयं गौतमले पनि यो प्रस्तावलाई अस्वीकार गरे । गौतमले अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजानुपर्ने र त्यहीँबाट निर्णय गर्नुपर्ने अडान राखेपछि ओलीको प्रस्ताव अस्वीकृत भयो । उनले आफूसमेतको समर्थनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन ल्याएको स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनै हालतमा नछाड्ने प्रधानमन्त्रीको अडान

प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद कुनै हालतमा नछाड्ने अडान लिएका छन् । महाधिवेशनपछि पार्टी नेतृत्व र चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्न सकिने अडान लिँदै आइरहेका प्रधानमन्त्री ओलीले शनिबार बसेको सचिवालय बैठकमा समेत उक्त अडान दाहोर्याएका थिए ।

प्रधानमन्त्री ओलीले आफू संसद्बाट अनुमोदित भएर प्रधानमन्त्री बनेको र महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकाले दुवै पद बीचैमा त्याग गर्न नसक्ने बताएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले भनेका थिए, ‘हामी सबै मिलेर जानुपर्छ भनेकै छु, तर म दुवै पद छाड्दिनँ भन्नेमा तपाईंहरू क्लियर हुनुस् । चुनावभन्दा पहिले प्रधानमन्त्री छाड्छु, महाधिवेशनभन्दा पहिले अध्यक्ष छाड्छु भन्ने कसैमा भ्रम छ भने पहिल्यै त्यस्तो भ्रम हटाउँदा हुन्छ । म राजीनामा गर्दिनँ, अरूले लोभ गर्ने, अनि मैले किन त्याग गर्ने ? के–के मन लाग्छ गर्नुस् । म दुबै पद छोड्दिनँ ।’