कांग्रेस विशेष महाधिवेशन : बढ्दैछ चहलपहल, पदयात्रा रोकियो

कांग्रेस विशेष महाधिवेशन : बढ्दैछ चहलपहल, पदयात्रा रोकियो


काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि विभिन्नबाट महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरू भेला हुन थालेका छन् ।

देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू महाधिवेशन स्थल भृकुटीमण्डप क्षेत्रमा आउन थालेपछि चहलपहल बढेको छ ।

आइतबार र सोमबार हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।

मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै बढेको छ ।

प्रतिनिधिहरू आउन थालेसँगै स्वयंसेवकहरू परिचालन गरी स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए।

पदयात्रा स्थगित

विशेष महाधिवेशन पक्षधरहरूले शनिबार तय गरेको पदयात्रा स्थगित भएको छ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार विशेष महाधिवेशनको प्रचारप्रसारका लागि शनिबार दिउँसो १ बजे भृकुटीमण्डपबाट तय गरिएको पदयात्रा कार्यक्रम स्थगित भएको हो।

कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको उनले जानकारी दिए। ८४ वर्षीय दाहालको गएराती वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार र आइतबार विशेष महाधिवेशन बोलाएका छन्।