काठमाण्डु – नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो ।
भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ ।
सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । जस कारण खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ । एक वर्ष पूरा हुनै लाग्दा बुस्टर डोजसमेत लगाउन थालिएको छ ।
अंग्रपंक्तिमा खटिनेलाई खोप लगाएर सुरुवात गरेको अभियानको एक वर्ष पूरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ । ५ देखि ११ वर्ष उमेर समूहका नागरिकलाई दुई महिनाभित्रमा लगाउने गरी सरकारले फाइजर खोप ल्याउने तयारीलाई तीव्रता दिएको छ ।
नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।
नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
तर, आयात गरिएको खोपमध्ये २४ लाख डोजको कुनै रेकर्ड नरहेको भन्दै अनियमितताको आशंका पनि गरिएको छ ।
नेपाल दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा परेको मन्त्रालयको जिकिर छ । सरकारले आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
सातै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनेका र भेरोसेलको पहिलो/दोस्रो मात्रा खोप लगाउने क्रम जारी छ । हाल, ५७ जिल्लामा मोडर्ना खोप लगाइँदैछ ।




प्रतिक्रिया