आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्दै

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्दै छ ।

नेपालले प्राप्त गर्ने उक्त खोपको मात्रा आज बिहान सवा ११ बजे भारतबाट नेपाल आइपुग्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

उनले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने जानकारी दिए । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने मन्त्रालयले जनाएको छ । सरकारले कोभ्याक्स सुविधामार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र नेपाल आईपुग्नेछ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथिकालाई खोप लगाइने भएको हो ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ ।