काठमाण्डु– अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म ५ अभ्यास शृंखला खेल्ने जनाएको हो ।
नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।
त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ ।
यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ । उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ ।
त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो ।
सन् २०२६ को टी–२० विश्वकपमा स्थान बनाउन नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी–२० एसिया क्षेत्र छनोटमा भाग लिनेछ। उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालसँगै समूहमा कुवेत र जापान छन्।
त्यस्तै समूह ‘ए’मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन्।
उक्त प्रतियोगितामा ९ टोलीको सहभागिता रहेनछ। एसिया तथा पूर्वी एसियाप्रान्त क्षेत्रबाट विश्वकपसम्म यात्रा तय गर्न आयोजक टोली ओमान, नेपाल, यूएई, मलेसिया, कुवेत, कतार, जापान, सामोआले र पपुवा न्युगिनीको सहभागिता रहनेछ।




प्रतिक्रिया