नेपालको राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय चासो, संवादमार्फत् समाधान खोज्न जोड

नेपालको राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय चासो, संवादमार्फत् समाधान खोज्न जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा गहिरिँदो राजनीतिक घटनाक्रमप्रति अन्तर्राष्ट्रिय चासो र सरोकार बढेको छ ।

संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मित्र तथा समुदायले नेपालमा विकसित राजनीतिक घटनाप्रति चासो व्यक्त गदै यसको छिटोभन्दा छिटो निकास खोज्न सुझाव दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रचनात्मक रूपमा संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् । हिंसात्मक प्रदर्शनका क्रममा नेपाली नागरिकले ज्यान गुमाउनु दुःखद रहेको चिन्ता व्यक्त गर्दै उनले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

उनले संवादको माध्यमबाट रचनात्मक मार्गप्रशस्त गर्न पनि आग्रह गरेका छन् । यस्तै नेपालका दुई छिमेकी भारत र चीनले पनि नेपालमा उत्पन्न परिस्थितिप्रति चासो जनाएका छन् ।

दुवै देशले शान्तिपूर्ण प्रदर्शन र संवादको विकल्प नभएको प्रस्ट पारेका छन् । भारत सरकारको तर्फबाट विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा नेपालमा भएको घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको सबै पक्षले संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न अपिल गरेका छन् ।

यस्त, चीन सरकारले पनि नेपाल र चीन दुई अभिन्न मित्र रहेको उल्लेख गर्दै यहाँ उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले वक्तव्यमार्फत नेपालमा उत्पन्न घरेलु समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास चीनले लिएको जनाएको छ ।

त्यसैगरी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नेपालमा उत्पन्न स्थितिप्रति चिन्ता जनाएका छन् ।

नेपालस्थित विभिन्न देशका दूतावासहरुले पनि पछिल्लो हिंसात्मक घटना र प्रदर्शनले निम्त्याएको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, स्विट्जरल्यान्ड तथा संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा नागरिकका मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न अपिल गरेका छन् । त्यस्तै युरोपेली सङ्घले पनि नेपालमा उत्पन्न हिंसात्मक प्रदर्शनीपछिको अवस्थालाई साम्य बनाउन संयम राख्न भनेको छ ।

नेपालमा जेनजी आन्दोलनमा देखिएको घटनाक्रमप्रति गान्धी मण्डेला फाउण्डेशन पनि दुःख व्यक्त गरेको छ। लोकतान्त्रिक व्यवस्थामा युवा पुस्ताको आवाज र आकांक्षालाई जिम्मेवार राज्य, राजनीतिक दल तथा सरोकारवालाले सम्बोधन गर्न आवश्यक रहेको भन्दै असमझदारी, हिंसात्मक झडप र अशान्तिपूर्ण अवस्था सिर्जना भएकोमा फाउण्डेशनले चिन्ता व्यक्त गरेको हो।

यसैगरी अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले पनि प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्।

सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य रहेको नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गरेका छन् ।