नेपालसहित तीन देशमा उथलपुथल : के भन्छन् दक्षिण एशियाका विज्ञहरू ?

नेपालसहित तीन देशमा उथलपुथल : के भन्छन् दक्षिण एशियाका विज्ञहरू ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक तस्वीरलाई नै बदलेको छ ।

भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुधारको माग गर्दै सडकमा उत्रिएका जेनजी पुस्तामाथि सरकारले सोमबार दमन गरेपछि भड्किएको हिंसाले ३० जनाको ज्यान गएको छ भने देशका भौतिक संरचनामा व्यापक क्षति भएको छ ।

राज्यका ३ वटै अंगको संरचना पनि ध्वस्त भएको छ । पछिल्लो आन्दोलनले देशको राजनीतिक प्रणालीमा प्रश्न उठेको छ भने राजनीति तस्वीर पनि बदलिएको छ । अब के हुने र राजनीतिले कुन बाटो लिने जस्ता विषयमा सर्वत्र चासो छ ।

नेपाल भूराजनीति रूपमा संवेदनशील रहेका कारणले सोमबार र मंगलबारको ध्वंशले संसारकै ध्यानाकृष्ट गरेको छ ।

नेपालमा भएको घटनाका विषयमा भारत, चीन सहितका देशले चासो प्रकट गरेको छ । यद्यपि उनीहरूले नेपालमा छिटो शान्ति र स्थिरता हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल जस्तै अवस्था केही वर्षअघि दक्षिण एशियाली देशहरू श्रीलंका र बंगलादेशमा पनि भएकाले विज्ञहरूले चासो झन् बढेको छ । उनीहरू दक्षिण एशियाका देशहरूमा एकपछि अर्काे गरी भएको यस्ता प्रकारको आन्दोलनले भूराजनीतिक तनावलाई मद्दत मिलेको बताउँछन् ।

दक्षिण एशियामा भइरहेको बारम्बारको राजनीतिक आन्दोलनले यहाँका सरकारहरूले पाठ सिक्ने हुन् वा होइनन् भन्ने प्रश्न उठेको पनि विज्ञहरूको धारणा छ ।

बंगलादेशको द डेली स्टारमा राजनीतिशास्त्री अरिफुर रहमान लेख्छन्, ‘नेपालमा भएका घटनाहरू धेरै हिसाबले गत वर्ष शेख हसिनाको पतन निम्त्याउने बंगलादेशको विद्रोहसँग मिल्दोजुल्दो छ ।’

‘दुवै अवस्थामा सामान्य नागरिकका अधिकार र मागलाई बेवास्ता गरेर सत्तामा बसेका वा सत्तासँग जोडिएका व्यक्तिलाई मात्र लाभ हुने व्यवस्थाप्रति सार्वजनिक असन्तोषले विरोधलाई जन्म दियो हो,’ उनी लेख्छन् ।

नेपालको आन्दोलनलाई भारतीय सन्दर्भसँग जोड्दै अभिताभ महतोले इण्डियन एक्सप्रेसमा लेख्छन्, ‘नेपालमा देखिएको राजनीतिक अनिश्चितता, शून्यता र संवैधानिक तथा राजनीतिक संकटबाट भारत अछुतो रहन सक्दैन ।’

नेपालमा भएको संकटबाट पाठ सिकेर भारतले आफ्नो देशभित्र सबै दल, नागरिक समाज र विशेषगरी असन्तुष्ट युवाहरूसँग संवादका माध्यमहरू खुला राख्नुपर्ने उनको सुझाव छ ।

धेरै हिसाबले दक्षिण एशियामा भएका विरोध र आन्दोलनहरूमा साझा विशेषता देखिन्छ । जनता असन्तुष्ट छन् र उनीहरूको रिस र असन्तोष सत्तामा रहेका व्यक्ति, भ्रष्टाचार, बढ्दो असमानता तथा आर्थिक विभाजनका लागि जिम्मेवार ठानिने स्थापित राजनीतिक प्रणालीप्रति केन्द्रित छ ।

दक्षिण एशियाली भू–राजनीतिका जानकार धनञ्जय त्रिपाठीले बीबीसी हिन्दी सेवालाई भनेका छन्, ‘भारतको छिमेकमा यस्तो अशान्ति भएकाले भारतका लागि चिन्ताको विषय हो । नेपालका युवामा आक्रोश छ र भारतले ध्यान दिनुपर्छ कि कुनै हालतमा यस्तो सन्देश नजाओस् कि भारत त्यहाँका नेताहरूलाई जोगाइरहेको छ ।’

भारत–नेपाल सम्बन्धी विषयमा संवेदनशील रहनुपर्ने सुझाव दिँदै उनी थप्छन्, ‘त्यहाँको वर्तमान अवस्थाले भारतलाई तत्काल कुनै प्रभाव पार्दैन । तर भारतले जनताको कुरा सुनेको छ भन्ने देखाउनुपर्ने हुन्छ ।’

नेपालले वर्तमान राजनीतिक र संवैधानिक संकटको निकास खोजिरहेका बेला भारतले पछिल्ला वर्षहरूमा आफ्ना छिमेकीहरूमा देखेको पहिलो संकट नरहेको भारतको फर्स्टपोस्टकी प्रबन्ध सम्पादक पालिका शर्मा बताउँछिन् ।

अफगानिस्तानदेखि लिएर म्यानमार, श्रीलंका र पाकिस्तानसम्म नयाँदिल्लीले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

द वायरमा देवरुपा मित्र लेख्छन्, ‘नेपालमा प्रमुख नेताहरूबीच अहंकारको भावना थियो । उनीहरूबीच सत्ता लेनदेनको खेल जस्तै थियो । पटक–पटक पदमा बस्ने, भ्रष्टाचारको छानबिनबाट बच्ने र ठूलो सम्पत्ति जम्मा गर्ने उनीहरूको दिनचर्या थियो । जनताले उनीहरूलाई जवाफदेही नभएको रूपमा हेरे र अन्त्यमा विस्फोट भयो ।’

डेक्कनहेराल्डमा आशिष पाण्डे भन्छन्, ‘आउँदो केही हप्ता नेपालको राजनीतिक संस्था खासगरी नयाँ प्रधानमन्त्री र राष्ट्रपतिले विश्वास पुनर्निर्माण गर्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्ने दृष्टिले अत्यन्तै निर्णायक हुनेछन् ।’ यो क्षण राजतन्त्रको अन्त्यपछि आएको अर्को ठूलो भूकम्पीय परिवर्तनको सुरुवात बन्ने उनको विश्लेषण छ ।

भारतको शिवसेना (उद्धव बालासाहेब ठाकर, यूबीटी)का नेता सञ्जय राउत छिमेकी देशको परिस्थितिलाई भारतसँग तुलना गर्दै समान भ्रष्टाचार र अधिनायकवाद भएको बताउँछन् ।

छिमेकी राष्ट्रमा भएको संकट भ्रष्टाचार, तानाशाही र मन्त्री तथा उनका परिवारको विलासी जीवनशैलीप्रति भएका आक्रोशले उत्पन्न भएको हो यस्तो भावना भारतमा पनि देखिन्छ, द हिन्दुस्तान टाईम्समा उनी बताउँछन् ।

‘नेपालको आगो छिट्टै भारतमा पनि फैलिनेछ,’ चेतावनी दिँदै उनी भन्छन्, ‘यहाँका युवाहरू यदि आज शान्त छन् भने त्यसको कारण यहाँका शासन सत्ताका कारणले हो ।’

कोलम्बोस्थित राजनीतिक विशेषज्ञ वीरागथी थानाबालसिङ्हमका अनुसार धेरै विरोध प्रदर्शनहरू यति नाटकीय परिणामहरू बिना नै समाप्त हुन्छन् । जस्तो कि नेपाल, श्रीलंका र बङ्गलादेशमा देखियो । तर गलत गणना र अप्रत्याशित घटनाहरूले स्थिति झन् बिग्रिने सम्भावना त्यहाँ छ ।

‘म सोच्दछु कि नेपाल दक्षिण एशियामा अस्थिरताको नयाँ राजनीतिलाई प्रतिनिधित्व गर्छ,’ समाचार संस्था एपीसँग उनले भनिन् ।