काठमाण्डु – नेपालमा पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको हो ।
बिहीबार कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्। त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे। नेपाल राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महशुस गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन्।
नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पु¥याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे। उनले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए।
त्यस्तै, साइबर सेक्युरिटी सम्बन्धी तथ्य सामग्रीसहित प्रस्तुत भएका एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पनि केही पछिल्लो समय सूचना प्रविधिले फड्को मारेको भन्दै चुनौति पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई पनि आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए। यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको भन्दै उनले भने, ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता छ।
यस्ता शैक्षिक कार्यक्रमहरु मार्फत हाम्रो सुरक्षा हुनेछ र सुरक्षित डिजिटल नेपाल निर्माण गर्न मदत गर्न हामीले चाहेका छौं। साथै, यस कार्यक्रमबाट नेपाली युवाहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न ज्ञान र सीप प्राप्त गर्नेछन्।’ कलेजले सन् २०२२ को जनवरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरु गर्दैछ ।




प्रतिक्रिया