काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार, सरकार र जनता, जनता र जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गरे।
‘उच्चस्तरीय भेटघाटमा लाभहानीको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ’, उनले भने, ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ।’
‘महामहिम राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण एकदम सफल हुन्छ’, उनले भने। चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ। एक प्रश्नको जवाफमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताए।
‘हाम्रा आवश्यकता अनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु संकीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो’, उनले भने। भारतीय स्वतन्त्रता संग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसंग उल्लेख गर्दैै उनले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पस्ट गरे।
नेपाल अन्तर्रा्ष्ट्रिय जगत्मा सुनिन र देखिन थालेको हो त भन्ने जिज्ञासाका सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तर्रा्ष्ट्रिय उत्तरदायित्वका साथ अन्तरराष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाए। नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउ¥याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गरे।
‘नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्ररुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ। त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ। हामी कतै झुक्दैनौँ। कतै ढल्कँदैनौँ। नेपाललाई भूपरिवेष्टितबाट भूडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौँ।’
नेपालको राष्ट्रिय छवि वृद्धि भएकोमा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ। हामी क्षणिक लाभमा बहकिएर हामी हिँड्दैनौँ। राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छौँ। हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्रसंघका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौँ।’
उनले गत वर्षको राष्ट्र संघको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयहरुलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले समापनमा अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उनको तर्क थियो।




प्रतिक्रिया