काठमाण्डु- अमेरिकबाट निष्कासित १० नेपाली अमेरिकी चार्टर जहाजबाट बुधबार काठमाडौं आउँदैछन् ।
अमेरिकी चार्टर जहाज बिहान १० बजे काठमाडौ अवतरण गर्ने छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आउनेछ ।
अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए । तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो । तर उनीहरूलाई पानामा पु¥याउनुको कारण खुल्न सकेको छैन ।
कागजातबिहीन विदेशीलाई आइसका अधिकारीले उनीहरूकै देशमा लगेर छाड्ने गरेका छन् । ‘कस्टम एन्ड बोर्डर प्रोटेक्सन’ (सीबीपी) ले मेक्सिको सीमाबाट बिनाभिसा छिर्न खोज्ने विदेशी नागरिकलाई पक्राउ गरेर मेक्सिको नै फिर्ता पठाउने गरिरहेको छ ।
अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।




प्रतिक्रिया