नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर गरे ।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ ।

त्यस अवसरमा दुवै राजदूतले दुई देशको पारस्परिक हितका लागि राष्ट्रिय तथा बहुपक्षीय एवं विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए ।

गणततन्त्र पलाउ १५ डिसेम्बर १९९४ मा १८५औँ सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो । नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापना गरेको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि हालसम्म २०६ वर्षको अवधिमा नेपालले १७४ देशसँग यस्तो सम्बन्ध जोडेको छ ।