यूरोपियन युनियनको टोली नेपाल आउंदै : नेपाललाई कालोसूचीबाट हटाउनेबारे स्थलगत अध्ययन गर्ने


काठमाण्डु – युरोपियन कमिसनको टोली नेपाल आउने भएको छ । युरोपियन युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सीले (आयसा) ले स्थलगत परीक्षणका लागि अर्को साता टोली नेपाल पठाउन लागेको हो । नेपाललाई कालोसूचीमा राखेको मुल्यांकन गर्नको लागि उक्त टोली नेपाल आउन लागेको छ ।

युरोपियन युनियनले नेपाली वायुसेवालाई २०७० देखि आफ्ना २७ वटा सदस्य राष्ट्रमा कालोसुचीमा राखेको थियो । नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र ईयूका राजदूत नोना डेप्रेजले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा स्थलगत अध्ययनका लागि टोली आउन लागेको जानकारी दिएका हुन् ।

नेपाललाई कालोसूचीमा राखेपछि वायुसेवा कम्पनीहरुले युरोपमा सिधा उडान गर्न पाएका छैनन् । यो टोलीले नेपाल भ्रमण गरेर अध्ययन गरेपछि नेपाल कालोसूचीबाट हट्ने अनुमान छ ।

यसअघि गत अक्टोम्बरमा ईयुको टोली नेपाल भ्रमणमा आएको थियो । उक्त टोलीले नेपालमा हवाई सुरक्षाको अडिट गरेको थियो । उक्त टोलीले एयर सेफ्टि कमिटीमा रिपोर्ट बुझाएपनि नेपाल भने अहिलेसम्म कालोसुचीबाट हटेको छैन् ।

नेपाल नागरिक उड्डन प्राधिकरणको नियमावली संशोधन भइसकेको छ । नयां नियमावलीमा नियामक र सेवा प्रदायकको कार्य विभाजन गरिएको छ । विज्ञप्तिमा नयाँ प्रावधान तथा नेपालको उडान सुरक्षा निगरानी क्षमतामा अभिवृद्धि भएको र अन्तर्राष्ट्रिय उडान सुरक्षा मापदण्डको अनुकूल प्रगति भएको सन्दर्भमा नेपालमा स्थलगत भ्रमण गरी प्रमाणित गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।

स्थलगत भ्रमणमा आएको टोलीले यसबारेमा थप अध्ययन गर्न चाहेको छ । उक्त टोली फर्केपछि नेपाल कालोसूचीबाट हट्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement