काठमाण्डु – आदिवासी जनजाति महासंघले राउटे समुदायका युवतीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष जगत बरामले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाएका हुन् ।
साथै उनले घटनामा संलग्न होटल सञ्चालक सुर्खेत गुर्भाकोट नगरपालिकाका विनोद पुन, चमन घर्ती र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कडाभन्दा कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।
‘घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कारबाही अगाडि बढाउन राज्यका सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ’, अध्यक्ष बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै महासंघले विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
साथै महासंघले मञ्जुरी र स्वीकृति विना सार्वजनिक भएका भिडियो तथा तस्विरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत माग गरेको छ ।
लोपोन्मुख राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।





प्रतिक्रिया