काठमाण्डु – नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघले ‘कोभिड–१९ राहत कोष २०७८’ घोषणा गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९)लाई मध्यनजर गर्दै महासंघको शुक्रबार बसेको बैठकले सो कोषको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाति र बहिष्कृत वर्ग समुदायलाई अत्यावश्यक राहत वितरण गर्ने, उपचार र संक्रमितहरुका लागि स्वास्थ्य सामग्री प्रदान गर्ने लगायतका उद्देश्यसहित यो कोष खडा गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पछिल्लो समय नेपालमा कोभिड–१९ को नयाँनयाँ भेरियन्ट फेला परिरहेका बेला महासंघले ‘कोभिड–१९ राहत कोष’ प्रभावकारी बनाउन भन्दै विभिन्न संघ संगठनहरु, पेशा व्यवसायीहरु र आम नागरिकलाई सक्दो सहयोग गर्न अनुरोध गरेको छ ।
साथै महासंघले आगामी १९ र २० गतेका लागि तोकिएको दशौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको जानकारी दिएको छ । तीव्र रुपमा फैलिइरहेको कोरोना महामारीको विषम परिस्थितीलाई मध्यनजर गर्दै महासंघले चाहेर पनि महाधिवेशन जस्तो संवेदनशिल कार्यक्रम सञ्चालन गर्ने परिस्थिति नभएको भन्दै दशौं महाधिवेशनको पूर्व घोषित सबै कार्यक्रमहरु अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
त्यस्तै मुलुक महामारी र संकटको भूमरीमा फसिरहेका बेला सरकार भने जनताको जिउज्यानको सुरक्षा गर्नुपर्ने बेला गैरजिम्मेवार भई घिनलाग्दो सत्तास्वार्थको खेलमा लिप्त रहेको भन्दै महासंघले यस्ताखाले अराजनैतिक र अलोकतान्त्रिक क्रियाकलापप्रति आपत्ति जनाएको छ ।




प्रतिक्रिया