चीन र फ्रान्सबीच ४० खर्बको व्यापार सम्झौता

चीन र फ्रान्सबीच ४० खर्बको व्यापार सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीन र फ्रान्सले ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा एअर बस किन्ने सहमतिमा हस्ताक्षर गरेका छन् । फ्रान्स भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीन फिङ र फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंबीचको भेटवार्ता पछि १५ वटा व्यापार सम्झौता गरिएको हो । दुई देशबीच गरिएको व्यापार सम्झौतामा ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयर बसका ३ सय वटा जहाज किन्ने उल्लेख छ ।

फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयका अनुसार तीमध्ये ए ३२० सिरिजका न्यारोबडी जहाज २९० वटा र ए ३५० वाइड बडी जहाज १० वटा हुनेछन् । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनापछि बोइङका सो मोडलका सबै जहाज ग्राउन्डेड गरेको चीनले फ्रान्सेली कम्पनीसँग नयाँ सम्झौता गरेको हो ।

अरु २ खर्ब ७४ अर्बका परियोजनामा भने विकासशील देशहरूमा उर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य र १० वटा कन्टेनर निर्माणको सम्झौता छ । चीनले फ्रान्सेली कुखुराको मासुलाई चीनमा लगाउँदै आएको कर पनि हटाएको छ । इटाली भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी पेरिस पुगेका हुन् ।

यही भ्रमणका क्रममा सीले औद्योगीक राष्ट्रहरूको समूह जी–७ को सदस्य इटालीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल गराएका थिए ।