काठमाडाैंमा रहेका भारतीय विदेश सचिव र प्रधानमन्त्रीबीच के छलफल भयाे?


काठमाडाैं–नेपाल र भारतका परराष्ट्र सचिवहरूले गएको वर्ष (सन् २०१८) नेपाल र भारतबीचको सम्बन्ध सुधारमा उनीहरूकै शब्दमा ‘सफल रहेको’ मूल्याङ्कन गरेको अधिकारीहरूले बताएका छन्।

बिहीवार काठमाण्डूमा भएको परराष्ट्र सचिवस्तरीय बैठकमा उनीहरूले यस्तो मूल्याङ्कन गरेको अधिकारीहरूले जानकारी दिए।

उक्त बैठकमा सहभागी हुन भारतीय विदेश सचिव विजयकेशव गोख्ले दुई दिने नेपाल भ्रमणका क्रममा बिहीवार नै काठमाण्डू आएका थिए।

बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा ‘गत वर्ष नेपाल र भारतको सम्बन्ध सुधार हुनुका साथै नयाँ उचाइमा पुगेको’ बताइएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए।

ईपीजी प्रतिवेदनबारे भएन छलफल
उनले भने, “गत वर्ष कतिपय समाधान गर्नुपर्ने विषयहरू समाधान गर्न राजनीतिक तहमा संवादहरू भए र ती समस्या समाधान भएकाले आपसी सम्बन्ध राम्रो भएको उहाँले जानकारी गराउनु भयो।”

गत वर्ष कतिपय समाधान गर्नुपर्ने विषयहरू समाधान गर्न राजनीतिक तहमा संवादहरू भए र ती समस्या समाधान भएकाले आपसी सम्बन्ध राम्रो भएको उहाँले जानकारी गराउनु भयो।
राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार
गोख्लेले भारतीय लगानी ल्याउन, निर्माणाधीन भारतीय परियोजनाहरू चाँडै पूरा गर्न, विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन, जलविद्युत विकासलगायतका मुद्दाहरू टुङ्ग्याउन गत वर्ष गरिएका पहलहरूले सफलता पाएको बताएको भट्टराईले जानकारी दिए।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको विवादित १९५० को सन्धि लगायतका अन्य दुई पक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनबारे भने छलफल नभएको भट्टराईले बताए।

उक्त प्रतिवेदन तयार भएको करिब ९ महिना बितिसक्दा पनि हालसम्म नेपाल र भारतलाई बुझाइएको छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिन नसक्दा उक्त प्रतिवेदन बुझाउन ढिलाइ भएको खबरहरू सार्वजनिक हुने गरेका छन्।

अर्थपूर्ण
यसैगरी उक्त भेटमा दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)को १९ औँ शिखर सम्मेलनबारे पनि खासै कुराकानी नभएको भट्टराईले जानकारी दिए।

सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको उक्त शिखर सम्मेलनमा भारत सहभागी नहुने भएपछि स्थगित भएको थियो।

भारतले त्यसै वर्ष भारत प्रशासित जम्मु-कश्मीरस्थित एउटा सैन्य अखडामा १७ जना सैनिकको ज्यान जाने गरि भएको हमलाको दोष पाकिस्तानलाई लगाउँदै सार्क शिखर सम्मेलनमा सहभागी नहुने जनाएको थियो।

त्यसयता सार्कको अध्यक्षका हिसाबले नेपालले शिखर सम्मेलनका लागि गरेको आग्रहलाई भारतले खासै वास्ता गर्ने गरेको छैन।

गत महिना भारत प्रशासित कश्मीरको पुलवामामा भएको एउटा आत्मघाती हमलामा भारतीय अर्ध सैनिक बलका ४० जनाको ज्यान गएपछि भारत र पाकिस्तानबीच सम्बन्ध थप बिग्रिएको छ।

भारत-पाक सम्बन्ध बिग्रिएका बेला भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणलाई कतिपय परराष्ट्र मामिलाका जानकारहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

सम्झौता कार्यान्वयन
परराष्ट्र सचिव शंकरदास वैरागीले भारतीय विदेश सचिवसँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष भएको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला गरिएका सम्झौताहरू कार्यान्वयनको अवस्था बारे छलफल भएको जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा कृषि, रेलमार्ग, जलमार्ग र अन्य पूर्वाधार विकासबारे विशेष छलफल भएको थियो।

“हामीले हाल सञ्चालनमा रहेका भारतीय सहयोगका र द्विपक्षीय परियोजनाहरूको अवस्था बारे छलफल गर्‍यौँ। केही नयाँ परियोजनाका विषयमा पनि छलफल भएको छ,” बैठकपछि उनले भने।

उनका अनुसार कतिपय थाती रहेका विषयमा पनि थप छलफल गर्ने सहमति भएको छ।

भारतीय विदेश सचिव गोख्लेले बिहीवारै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

अधिकारीहरूका अनुसार नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच हुनुपर्ने बैठक भारतमा हुन लागेको आम चुनावका कारण हुन नसकेकाले सचिवस्तरीय बैठक भएको हो।

उक्त बैठकले कतिपय विषयहरू परराष्ट्र मन्त्रीहरूलाई सिफारिस गर्ने र उच्च राजनीतिक तहमा त्यसबारे छलफल गरिने बताइएको छ। बीबीसी नेपाली सेवाबाट साभार

प्रतिक्रिया दिनुहोस
Advertisement