बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा नेपाल–भारतको समान लगानी हिस्सा


काठमाडौँ —अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुरको निर्माण नेपाल र भारतको बराबरी लगानी रहने भएको छ।

भारतको बैंगलोरमा मंगलबार भएको नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रशारणलाइनका लगानी हिस्स समान रहने भएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनका अनुसार प्रशारण लाइनका लागि आधाआधा स्वपूँजी रहने कम्पनी स्थापना गरिनेछ । र, उक्त कम्पनीले व्यवसायिक मोडलमा प्रसारण लाइन बनाउनेछ। उनका अनुसार २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋणमा प्रसारण लाइन निर्माण गर्न सहमति जुटेको हो। सहमतिसँगै लगानी जुटाउनुपर्नेछ।

विजुलीको मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले सरकारले प्राथमिकतामा राखेको हो। सरकारले प्रस्ताव गरेको प्रसारणलाइन गुरुयोजनामा पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई जोड दिइएको छ। हाल दुई देशबीच ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

बैठकले ३ महिनाभित्र नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले संयुक्त कम्पनी स्थापना गर्ने र ६ महिनाभित्र निर्माणको लागि सहमति गर्ने निर्णय पनि गरेको छ।

इनर्जी बैंकिङका बारेमा समेत सहमति भएको छ। भारतले अन्तरदेशीय विद्युत् व्यापार तथा आदानप्रदानका लागि स्पष्ट नीतिगत तथा कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement