काठमाण्डु-पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतका मन्त्रीबीच छलफल भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भएको भेटमा पञ्चेश्वर अगाडि बढाउने विषयमा छलफल भएको हो ।
‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री खड्काले बिहीबार समकक्षी पाटिलसँग पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर टुंग्याउने विषयमा छलफल गरेका हुन् ।
आयोजनाको डीपीआर चाँडो अघि बढाउने सहमति भएको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले जानकारी दिए । भेटमा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिमरूप दिएर महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ ।
यस्तै, बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
सप्तकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिमरूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।
उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।




प्रतिक्रिया