काठमाण्डु – भारत–नेपाल गृह सचिवस्तरीय वार्ता भारतको राजधानी नयाँदिल्लीमा भएको छ ।
वार्तामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारका गृह सचिव गोविन्द मोहन र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारका गृह सचिव गोकर्णमणि दवाडीले गरे ।
वार्तामा दुवै पक्षबीच द्विपक्षीय सुरक्षा सहयोग तथा सीमा व्यवस्थापनका पक्षहरूमा समीक्षा गर्दै थप सुदृढ बनाउने सहमति गरिएको छ । सीमा स्तम्भहरूको मर्मत तथा संरक्षण, सीमा पारका आपराधिक गतिविधि, सीमा जिल्ला समन्वय समितिहरूको कार्यसम्पादन, एकीकृत जाँच चौकी, सडक तथा रेलवे जस्ता सीमा पूर्वाधारको सुदृढीकरण, सुरक्षा निकायहरूको सशक्तीकरण तथा क्षमता विकास, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य विस्तार जस्ता विषयमा विस्तृत छलफल गरिएको भारत सरकारले जनाएको छ ।
दुवै पक्षले आपराधिक मामिलामा आपसी कानूनी सहयोग सम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेकोमा स्वागत जनाउँदै संशोधित सन्धिलाई छिटो निष्कर्षमा पुर्याउन पहल गर्ने सहमति भएको छ ।
गृह सचिवस्तरीय वार्ताको अर्को चरण नेपालमा पारस्परिक सहमतिमा हुने बताइएको छ ।




प्रतिक्रिया