नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक : भागेका कैदी पक्राउका लागि सहयोग गर्न नेपालको आग्रह

नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक : भागेका कैदी पक्राउका लागि सहयोग गर्न नेपालको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ ।

बैठकमा जेन जी आन्दोलनका क्रममा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ ।

नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको हो  ।

यस्तै बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो ।

२४ भदौमा नेपालको जेलबाट पाँच सयभन्दा धेरै भारतीय कैदी भागेका थिए । त्यस्तै, चार हजार नेपाली कैदी अझै फरार छन् । उनीहरूमध्ये कतिपय भारत पुगेको आशंका गरिएको छ ।

बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताए ।

जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपालले सीमामा नेपालीमाथि हुने दुर्व्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।

शुक्रबारसम्म चल्ने बैठकमा यसअघिका बैठकका समीक्षा र आगामी रणनीतिसहित विभिन्न विषयमा छलफल हुनेछ ।

बैठकमा भाग लिन नेपालको टोली मंगलबार भारत गएको हो । यस्तो सुरक्षासम्बन्धी समन्वय बैठक हरेक वर्ष हुँदै आएको छ । यसपटकको बैठक नवौँ हो ।