भारत–नेपालबीच रेलमार्ग व्यापार विस्तार गर्ने सम्झौता

भारत–नेपालबीच रेलमार्ग व्यापार विस्तार गर्ने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारत र नेपालबीच रेलमार्गमार्फत व्यापारिक आवागमनलाई थप सुदृढ बनाउन ट्रान्जिट सन्धिमा संशोधन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियूष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाबीच बिहीबार नयाँदिल्लीमा सम्पन्न द्विपक्षीय बैठकपछिसमझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताले भारतको जोगबनी र नेपालको विराटनगरबीच रेलमार्गबाट मालसामान ढुवानी गर्न सहज बनाउनेछ । यसमा कन्टेनरयुक्त तथा थोक दुवै प्रकारका सामान समेटिएका छन् । यसले कोलकाता–जोगबनी, कोलकाता–नौतनवा (सुनौली) र विश्वखापट्टनम–नौतनवा (सुनौली) ट्रान्जिट मार्गहरूलाई समेत विस्तार गरेको छ ।

सम्झौताले २ देशबीचको बहुआयामिक व्यापारिक आवागमनलाई थप मजबुत बनाउने तथा नेपाल र तेस्रो मुलुकबीचको व्यापारमा पनि सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

नयाँ समझदारी पत्रले जोगबनी–विराटनगर रेलमार्गमार्फत प्रत्यक्ष रेल सेवाको सञ्चालन गर्न कानूनी बाटो खुला गरेको छ । यसले भारतका कोलकाता र विश्वखापट्टनम बन्दरगाहहरूबाट नेपालको मोरङ जिल्लास्थित विराटनगरको नेपाल कस्टम्स यार्ड कार्गो स्टेसनसम्म सामान ढुवानी गर्न सहज बनाउनेछ ।

रेलमार्ग भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । २०२३ जून १ मा भारत र नेपालका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

बैठकमा दुवै पक्षले सिमा नाकाहरूमा संयुक्त जाँच चौकी र अन्य पूर्वाधार विकासका माध्यमबाट सीमा पार व्यापारिक आवागमन र सहजीकरणका लागि भइरहेको प्रयासमा सन्तोष व्यक्त गरेका छन् ।

भारत हाल नेपालको सबैभन्दा ठूलो व्यापारिक र लगानी साझेदार रहेको छ, जसले नेपालको बाह्य व्यापारमा उल्लेखनीय योगदान पुर्‍याएको छ । बिहीबार भएको समझदारीले २ देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।