भारतीय सहयोगमा २ स्वास्थ्य चौकी भवनको शिलान्यास

भारतीय सहयोगमा २ स्वास्थ्य चौकी भवनको शिलान्यास


सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

ईन्द्रावती गाउँपालिका–३ र ६ मा निर्माण हुने यी भवनहरूको मंगलबार एक समारोहबीच संयुक्त रूपमा शिलान्यास गरिएको छ ।

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपाल र काठमाण्डुस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरे ।

स्वास्थ्य चौकी भवनहरू भारत सरकारको करीब ४ करोड आर्थिक सहयोगमा निर्माण हुन लागेका छन् । दुवै स्वास्थ्य चौकीमा आधुनिक सुविधाहरू सहितको २ तले भवन बन्नेछन् ।

परियोजनाहरूलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा ईन्द्रावती गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । शिलान्यास समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे ।

नयाँ स्वास्थ्य पूर्वाधारको निर्माणले स्थानीय वासिन्दामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नजिकको छिमेकी देशको नाताले नेपाल र भारतबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार अभिवृद्धि गरी नेपालको प्रगतिमा सहयोग पुर्‍याउने भारत सरकारको निरन्तरको प्रयास स्वरूप यी स्वास्थ्य चौकीहरू निर्माण हुन लागेको भारतीय राजदूतावासले जनाएको छ ।