नेपाली राजदूत शर्मा र उत्तराखण्डका मन्त्री महाराजबीच नयाँदिल्लीमा भेटवार्ता

नेपाली राजदूत शर्मा र उत्तराखण्डका मन्त्री महाराजबीच नयाँदिल्लीमा भेटवार्ता


नयाँदिल्ली – भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा र भारतको उत्तराखण्ड सरकारका लोक निर्माण, पर्यटन, सिँचाइ एवं संस्कृति मन्त्री सतपाल महाराजबीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भेटवार्ता भएको मन्त्री महाराजले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

भेटका क्रममा महाकाली नदी (शारदा) मा रहेका विभिन्न पूर्वाधारहरूको स्तरोन्नति र नयाँ आयोजनाका विषयमा गहन छलफल भएको छ ।

उनका अनुसार महाकाली नदीमा रहेको पुरानो शारदा ब्यारेजको संरचनात्मक सुदृढीकरण (रेट्रोफिटिङ) गर्ने विषयमा छलफल भएको छ । वनबासा ब्यारेजको मर्मत सम्भार तथा नयाँ पुल निर्माणको आवश्यकताका बारेमा कुराकानी भएको छ ।

दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहसम्म भारततर्फ पहुँचमार्ग निर्माणको प्रगतिबारे पनि दुवै पक्षबीच संवाद भएको छ ।

मन्त्री महाराजले उत्तराखण्ड सरकार र नेपालबीचको सांस्कृतिक तथा भौतिक पूर्वाधारको सम्बन्धलाई थप बलियो बनाउन छलफलहरू महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

कञ्चनपुरसँग जोडिएको वनबासा क्षेत्रमा हुने पूर्वाधार विकासले नेपाल–भारत सीमा पार व्यापार र आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।