नेपाल–भारत थिंक ट्यांक फोरममा नेपालीको साहस र सुरक्षा सहकार्यबारे चर्चा

नेपाल–भारत थिंक ट्यांक फोरममा नेपालीको साहस र सुरक्षा सहकार्यबारे चर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्ट (एनआइस) को आयोजनामा ‘क्षेत्रीय सहनशीलता: नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयक नेपाल–भारत थिंक ट्यांक फोरम काठमाण्डुमा सम्पन्न भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा नेपाल र भारतका प्रमुख थिंक ट्यांकका वरिष्ठ विज्ञ तथा सुरक्षा विश्लेषकहरूको सहभागिता थियो ।

कार्यक्रममा भारतको सबैभन्दा पुरानो थिंक ट्यांक ‘युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डिया’का महानिर्देशक (सेवानिवृत्त) उप–एडमिरल सञ्जय जसजीत सिंहले नेपालीहरूको साहस र वीरता भारतीय सैन्य शक्ति तथा राष्ट्रिय सुरक्षाको अग्रपंक्तिमा रहँदै आएको उल्लेख गरे । उनले अग्निवीर योजना नेपाली नागरिकका लागि पनि भारतीय नागरिकसरह खुला रहेको जानकारी दिँदै सन् १९७० पूर्वको गैर पेन्सनयोग्य कलर सेवासँग मिल्दोजुल्दो रहेको बताए । योजनाले अनुशासित, प्रेरित र सक्षम युवामार्फत मानव पुँजीमा लगानी गर्दै समाजलाई थप सबल र समृद्ध बनाउने धारणा व्यक्त गरे ।

भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा नेसनल स्ट्राटेजिक स्टडीजका संयोजक राजदूत पंकज सरनले नेपाली युवाहरूसँगको अन्तरक्रियाबाट आफू प्रभावित भएको बताउँदै नेपाल–भारत सम्बन्धको भविष्य निर्माणमा दुवै देशका युवाहरूको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले भारत सीमापार आतंकवादको प्रमुख पीडित राष्ट्र रहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्ने बताए । जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थप्लियालले थिंक ट्यांक र शैक्षिक संस्थाहरूको सक्रिय भूमिकाले नेपाल–भारत सम्बन्धलाई लाभ पुगेको बताउँदै दुवै देशका सरकारले अनुसन्धान र अध्ययनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् ।

काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका सहसंस्थापक डा. गौरव सैनीले खुला सीमा, गहिरो व्यापारिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धका कारण नेपाल–भारत सीमा विशिष्ट रहेको बताए । तर सीमाको खुला प्रकृतिले मानव तस्करी, लागूऔषध ओसारपसार र नक्कली मुद्रा जस्ता साझा सुरक्षा चुनौती पनि सिर्जना गरेको उनको भनाइ थियो । उनले जनवरी २०२६ मा बिहार प्रहरीले नक्कली नेपाली मुद्रा बरामद गरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

नियन्त्रणभन्दा सहकार्यमा जोड दिँदै उनले डिजिटल सचेतना अभिवृद्धि, सामाजिक तथा धार्मिक संस्थामा पारदर्शिता र संयुक्त साइबर सचेतना कार्यक्रमको आवश्यकता औंल्याए ।

राजनीतिक तथा सुरक्षा विश्लेषक (सेवानिवृत्त) मेजर जनरल विनोज बस्न्यातले नेपालमा देखिएको जेनजी आन्दोलन अप्रत्याशित नभए पनि त्यसको स्वरूप आश्चर्यजनक रहेको बताए । उनले निर्वाचनको महत्त्व औंल्याउँदै मात्र निर्वाचनले रणनीतिक स्थिरता सुनिश्चित गर्छ कि गर्दैन भन्ने प्रश्न उठाए । पुस्तान्तरण र संस्थागत सुधारबिना निर्वाचनले पुरानै चक्र दोहोरिन सक्ने चेतावनी दिँदै समावेशी संवादको आवश्यकता औंल्याए ।

एनआईसका कार्यक्रम संयोजक विवेक धोज थापाले भारतलाई रणनीतिक साझेदारका रूपमा व्याख्या गर्दै नेपाल–भारत सम्बन्ध उदीयमान युवा जनसंख्यासँगको साझेदारीमा केन्द्रित हुनुपर्ने बताए । जलस्रोत, जलवायु परिवर्तन र सुरक्षा जस्ता साझा चुनौतीहरू उल्लेख गर्दै उनले ‘भारत–नेपाल युवा जलवायु फेलोशिप’ जस्ता पहलमार्फत सहकार्य विस्तार गर्न सुझाव दिए ।

एनआईसकी निर्देशक सुमित्रा कार्कीले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न शैक्षिक र नीतिगत तहमा सक्रिय संलग्नता आवश्यक रहेको बताइन् । उनले भारतमा नेपाल अध्ययन र नेपालमा भारत अध्ययनलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै ज्ञान आदानप्रदान र संस्थागत सहकार्यबाट मात्र २ देशबिचको पारस्परिक समझदारी मजबुत हुने उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले परम्परागत तथा गैर–परम्परागत सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाल र भारतबिच नीतिगत समन्वय, सहकार्यको निरन्तरता र साझा सुरक्षा हितमा अभिसरण आवश्यक रहेकोमा सामूहिक जोड दिएका थिए । कार्यक्रमको अन्त्यमा रक्षा सहकार्य, क्षेत्रीय स्थिरता र भविष्यका सम्भावनाबारे अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र समेत सम्पन्न भएको थियो ।