काठमाण्डु – आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाइ मत ल्याएर सबैभन्दा ठुलो पार्टी बनेपछि यसका वरिष्ठ नेता बालेन शाह नयाँ प्रधानमन्त्री बन्ने निश्चित छ ।
यदि बालेन प्रधानमन्त्री बने भने उनी अत्यन्त कम उमेरका प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनेछन ।
गत भदौमा भएको जेन जी आन्दोलनले निर्वाचनपछि नयाँ संसदलाई युवामय बनाएको छ । यस पटक नेकपाका प्रचण्ड बाहेक अन्य कुनै पनि पूर्वप्रधानमन्त्री संसदमा नहुने अवस्था पनि देखिएको छ ।
यस चुनावमा नेपालमा धेरै कुरा पहिलो पटक हुन लागेको छ । करिब २४० वर्ष पुरानो राजतन्त्र समाप्त भएपछि अहिलेसम्म कुनै पनि पार्टीले एक्लै स्पष्ट बहुमत ल्याएर सरकार बनाउन सकेको थिएन । तर यस पटक रास्वपाले बालेन शाहको नेतृत्वमा आफ्नै बलमा सरकार बनाउँदै छ ।
प्रतिनिधिसभामा २७५ सिट छन् र सरकार गठन गर्न कम्तीमा १३८ सिट आवश्यक पर्छ । रास्वपा प्रत्यक्ष र समानुपातिक दुबै गरी १८३ भन्दा बढी सिट जित्ने दिशातर्फ अघि बढिरहेको छ ।
वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नयाँ संविधान लागू भएपछि कुनै पनि पार्टीले एक्लै सरकार बनाउन सक्दैन भन्ने धारणा थियो । तर बालेन शाहले त्यो मिथक तोडेका छन् ।’
पत्रकार नेपालका अनुसार प्रतिनिधिसभामा १६५ सांसद प्रत्यक्ष निर्वाचनबाट र ११० सांसद समानुपातिक प्रणालीबाट चयन हुन्छन् । त्यसैले एउटै पार्टीलाई स्पष्ट बहुमत आउन कठिन मानिन्थ्यो । तर रास्वपाले यो धारणा पनि तोडिदिएको उनको भनाइ छ । उनका अनुसार बालेनका लागि यो अवस्था ताकत पनि हो र चुनौती पनि हो ।
उनले स्पष्ट पार्दै भने, ‘ताकत यस अर्थमा कि सरकार कुनै गठबन्धनमा निर्भर रहँदैन । र चुनौती यस कारणले कि जनताका अपेक्षा अत्यन्तै उच्च छन् ।’
भारतलाई कति सहज–असहज ?
रास्वपा करिब चार वर्षअघि मात्रै स्थापना भएको पार्टी हो । त्यसैले भारत, चीनसहित अन्य देशसँग यसको अनुभव अरु पार्टीहरू जस्तो लामो छैन ।
यो पार्टीको ठूलो जितपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका थिए । मोदीले सामाजिक सञ्जालमा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
जुन २०२३ मा काठमाण्डु महानगरपालिका मेयर हुँदा बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमाथि प्रतिबन्ध लगाएका थिए ।
कारण थियो उक्त फिल्ममा देवी सीतालाई भारतकी छोरी भनेर उल्लेख गरिएको थियो । त्यसैगरी २०२० मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सा, जसमा भारतको उत्तराखण्डका केही क्षेत्र नेपालका रूपमा देखाइएका थिए, बालेन मेयर हुँदा आफ्नो कार्यालयमा राखेका थिए ।
यी दुई कारणले बालेन नेतृत्वको नयाँ सरकारसँग भारतको सम्बन्ध कति सहज हुन्छ भन्ने प्रश्न उठेको छ ।
झापाको दमक क्षेत्रमा निर्माण प्रस्ताव गरिएको नेपाल–चीन मैत्री औद्योगिक पार्क परियोजना बालेन शाहले आफ्नो चुनावी घोषणापत्रबाट हटाएका छन् । यो परियोजना चीनको बीआरआइ अन्तर्गतको हो ।
औद्योगिक पार्क परियोजना चिनियाँ राष्ट्रपति सी जिङपिङको बीआरआई कार्यक्रमअन्तर्गतको योजना मानिन्छ । झापाको दमक, कमल र गौरादह क्षेत्रमा २२ सय बिघामा फैलिएको यस पार्कको शिलान्यास फेब्रुअरी २०२१ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।
यो क्षेत्र भारत–नेपाल सीमाको नजिक र सिलिगुढी अर्थात् चिकेन नेक नजिक पर्ने भएकाले भारतका लागि रणनीतिक रूपमा संवेदनशील मानिन्छ ।
परियोजनाका अध्यक्ष गोविन्द थापाले भने विदेशी दबाबका कारण परियोजना रोकिएको आरोप लगाउँदै आएका छन् ।
नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेका अनुसार काठमाण्डुका मेयर हुनु र नेपालका प्रधानमन्त्री हुनु दुई फरक कुरा भएको बताउँछन् । ‘प्रधानमन्त्री भएपछि जिम्मेवारी धेरै बढ्छ’, उनले भने ।
उनले भारतले नेपालका नयाँ युवा नेतृत्वसँग सम्बन्ध बलियो बनाउनुपर्ने सुझाव दिन्छन् ।
‘मलाई लाग्छ यो भारतको जिम्मेवारी हो कि उसले नेपालको नयाँ पुस्ताको नेतृत्वसँग राम्रो सम्बन्ध बनाओस् र विश्वास जितोस् ।
अहिलेसम्म भारतले नेपालका पुराना दलहरूसँग काम गरेको छ, तर अब नयाँ शक्ति उदाएको छ’ पूर्वराजदूत रेले भने ।
उनले भारतको संस्थापन पक्षलाई सुझाव दिँदै भने, ‘भारतका लागि यो चुनौती छ कि उसले रास्वपाको शक्तिलाई बुझोस्, तिनको अपेक्षाहरू बुझोेस् । छिमेकीसँगको सम्बन्धमा भारतले आफ्नो विदेश नीति युवा केन्द्रित बनाउनुपर्ने हुन्छ ।’
भारतका केही कूटनीतिज्ञहरू नेपालमा कम्युनिस्ट पार्टीहरूको मजबुती भारतको हितमा नरहेको मान्यतामा छन् ।
रे भन्छन्, ‘यस चुनावमा कम्युनिस्ट पार्टीहरू र राजावादी पार्टीको प्रदर्शन निकै कमजोर रह्यो । ऐतिहासिक रूपमा हेर्ने हो भने नेपालमा भारत विरोधी राष्ट्रवाद १९९०को दशकदेखि सुरु भएको हो । अहिले हामीले देख्यौं कि नेपालमा कम्युनिस्ट पार्टीहरूलाई एकजुट गर्न चीनले कस्तो भूमिका खेलिरहेको थियो । मलाई लाग्छ अहिले उदाएको शक्ति वैचारिक नभई राष्ट्रवादी हो । यो शक्ति नेपाललाई विकास गर्न चाहन्छ र जहाँ यसलाई नेपालका लागि उचित लाग्छ, त्यहाँ यसले काम गर्नेछ ।’
नेपाल र भारतबीच करिब १,७५० किलोमिटर खुला सीमा छ । नेपाल धेरै क्षेत्रमा भारतसँग आर्थिक र सामाजिक रूपमा जोडिएको भएकाले दुई देशबीच राम्रो सम्बन्ध दुवैका लागि महत्वपूर्ण मानिन्छ ।
बीबीसी हिन्दी सेवामा प्रकाशित समाचारको आधारमा




प्रतिक्रिया