सीमास्तम्भ मर्मत र दशगजाको अतिक्रमण हटाउन नेपाल–भारतबीच छलफल

सीमास्तम्भ मर्मत र दशगजाको अतिक्रमण हटाउन नेपाल–भारतबीच छलफल


काठमाण्डु- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा वल बीच पाल्पाको तिनाउमा डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक बसेको छ ।

बैठकमा सीमा स्तम्भहरूको मर्मत तथा सम्भार र दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू संयुक्त प्रयासद्वारा हटाउने लगायतका विषयमा छलफल गरिएको छ ।

सशस्त्र प्रहरी नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खीरीका डिआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहको नेतृत्वमा बैठक गरिएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३१ हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए । यसअघि डिआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भइसकेको छ ।

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यीकरण, सीमा अपराधहरू मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक लगाउने विषयमा समेत छलफल भएको उनले बताए ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरूलाई समेत निरन्तरता दिने बारेमा छलफल भएको हो ।