सकियो नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औँ संस्करण (फोटोफिचर)

सकियो नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औँ संस्करण (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’काे १६ औं संस्करण समापन गरिएकाे छ । रूपन्देहीकाे सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन भएको अभ्यास बिहीबार सम्पन्न भएको हो।

बलाधिकृत रथी सरोजप्रताप राणाले एक विशेष कार्यक्रमका बीच सैन्य अभ्यासको समापन गरेका हुन्। विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयहरू समावेश गरी सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सकलदर्जा सहभागी रहेका थिए।

समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरूलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तासुकै चुनौतीहरूलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। सागै उनले सहभागी दुवै देशका सैनिकहरूलाई प्रमाणपत्र पनि प्रदान गरे।

अभ्यास समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल, नं.३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायकरथी प्रेमबहादुर पुन, नं.२२ बाहिनीपति सहायकरथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रूपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा रूपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

यस संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सीपको विकास हुने र आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।

सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमबीच पुस १ गते शुभारम्भ गरेका थिए।