‘इन्टेग्रीटी आईकन २०२०’ सार्वजनिक, उत्कृष्ट पाँच जनामा को–को परे ?

‘इन्टेग्रीटी आईकन २०२०’ सार्वजनिक, उत्कृष्ट पाँच जनामा को–को परे ?


काठमाण्डु – निजामति वा सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदान गरिने ‘इन्टेग्रीटी आईकन २०२०’ को नाम सार्वजनिक भएको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनरुलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनबाट निर्णायक समितिले उत्कृष्ट पाँच जनाको नाम छनौट गरेका हुन् । सोमबार एकाउन्टविलटी ल्याब नेपालले एक विज्ञप्ति सार्वजनिक गर्दै आइकनहरुको छनोट भर्चुअल माध्यमबाट भएको जानकारी दिएको हो ।

छनोट भएका कर्मचारीहरुमा नेपालगञ्ज स्वास्थ्य चौकीकी जनस्वास्थ्य निरीक्षक आरती थारु, लुम्विनी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दिपक ज्ञवाली, कृषि ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम बहादुर आले मगर, मंगलसेन नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यामीक विद्यालय धादिङका शिक्षक डा.नविनबन्धु पहाडी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेको निर्णायक समितिले आइकनहरु छनोट गरेको हो ।

सात वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ देशमा पुगिसकेको छ ।