बीमा कम्पनी नेपाल लाइफ पहिलो त्रैमासमा १५.७९ करोड नाफामा

बीमा कम्पनी नेपाल लाइफ पहिलो त्रैमासमा १५.७९ करोड नाफामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १५ करोड ७९ लाख नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.२५ प्रतिशत वृद्धि भएकोे छ ।

आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ । त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करीब ७९.३३ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा करीब १६५ अर्ब ५२ करोड रुपैयाँ रहेको ग्रस इन्स्योरेन्स कन्ट्रक्ट लाइबिलिटिज ५.८६ प्रतिशतले बढेर करीब १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको जनाइएको छ । असोज मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उल्लेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको अन्त्यमा करीब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले सूचना प्रविधिको विकासलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइसकिएकाले आगामी दिनमा दाबी भुक्तानी प्रक्रिया झन् सरल हुन गएर ग्राहक लाभान्वित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

अहिलेको विषम परिस्थितिमा जीवन बीमा बजारको लिडरको रूपमा आफूलाई स्थापित गराउन सफल कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ९३ करोड कूल बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो ।

कम्पनीले असोज मसान्तसम्ममा १ अर्ब ५८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ, जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २ हजार ३०७ रुपैयाँ रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिने जनाइएको छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अबलम्बन गर्दै नेपालीको घरदैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।