काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा कोरोना भाइरस (कोभिड १९) को नेपालमा कुनै संक्रमण नरहेको बताएका छन् । आइतबार सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा उक्त कुरा बताएका हुन् ।
भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको उनले बताए। कन्फ्रेन्स आयोजना गरेकोमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए। आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि उनले नेताहरुलाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले नेपालले भाइरस रोक्न गरेको प्रयासलाई आफैँले रेखदेख गरिरहेको बताए। ओलीले नेपालमा एक जनामान शंकास्पद कोरोना देखिएको तर अहिले संक्रमण नरहेको पनि स्पष्ट पारे।
उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए ।
यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए ।




प्रतिक्रिया