काठमाण्डु -नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफुनिकट २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् । उनले सर्वोच्च अदालतमा विचराधीन मुद्दालाई प्रभावित पार्न खोजेको दावी समेत गरेका छन् ।
एमालेको विवाद समाधान गर्न गठित कार्यदलले १० बुदे सहमतीमा आइतवार हस्ताक्षर गरेकोमा नेपालले त्यसमा असन्तुष्टि जनाए । नेता नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने निर्णय आफुलाई मान्य नहुने अभिव्यक्ति आइतवार नै दिइसकेका छन ।
नेता नेपालले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाएका छन् । थापाले कार्यदलको सहमतिलगत्तै सामाजिक सन्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बांकी रहेको भन्दै स्टाटस पोस्ट गरेका थिए । नेता नेपालले थापाको भनाई हिजो भएको छलफल विपरित रहेको बताएका छन् ।
नेता नेपालले जारी गरेको वक्तव्य
हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।
माधव कुमार नेपाल
२८ असार, २०७८




प्रतिक्रिया