काठमाण्डु- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ ।
महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईँले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन शत्र अघि कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटन सत्रमा परिणत हुने छ ।

अध्यक्ष नारायणमान बिजुक्छेको नेतृत्वमा २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो । दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा र सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो ।
पार्टीको अध्यक्षमा लगातार बिजुक्छे रही आएका छन् । ८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने संकेत नेताहरूले गरेका छन् ।




प्रतिक्रिया