नेपाल र म्यान्माबीच पर्यटन क्षेत्रमा सहकार्य


काठमाडौं – नेपाल र म्यान्माबीच पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँकी स्टेट काउन्सिलर आङ साङ सुचीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

म्यान्माको राजधानी नेपिडोस्थित प्रेसिडेन्सियल हाउसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र त्यहाँका अन्तर्रा्ष्ट्रिय सहयोगमन्त्री क्यो तिनले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी म्यान्माली समकक्षी विन मिन्तको निमन्त्रणामा बुधबार २७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपिडो पुगेकी हुन् ।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीबीच वार्ता भएको थियो । उनीहरूले द्विपक्षीय सम्बन्ध र महिला नेतृत्वबारे छलफल चलाएका थिए । प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगलाको खाडी प्रयास (बिम्स्टेक) सदस्य मुलुकका नाताले त्यसको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी र म्यान्माली समकक्षी विनबीच पनि प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ । त्यस क्रममा नेपाल र म्यान्माबीच सहकार्यबारे छलफल भएको थियो । लुम्बिनी भ्रमण गर्न म्यान्माका नागरिकलाई प्रोत्साहन प्रस्ताव राष्ट्रपति भण्डारीबाट राखिएको थियो । बिहीबार बिहान राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी, सञ्चारकर्मीलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement