नेपाल र म्यान्मारबीच समझदारीपत्रमा हस्ताक्षर


नेपित – म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सू चीको उपस्थितिमा आज दुईपक्षीय वार्तापछि पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

म्यान्माको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

राष्ट्रपति भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधवार साँझ म्यान्मारको राजधानी नेपित आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सू चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् ।

त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारद (गार्ड अफ अनर) दिएको थियो । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमणमा छिन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement