काठमाण्डु – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा ३ वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको छ ।
नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल बिहीबार साँझ ७ः४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। ३ खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ।
दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ। सिरिज अन्तर्गत नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन्। समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीले अवसर पाइरहेका छन्। यो सिरिजका दुई खेलमा आशिफ र आरिफ शेख दाजुभाइसँगै भीम सार्कीलाई समेत बेन्चमा राखिएको छ।
तीन टोलीबिच लिग–२ को सिरिजपछि टी–२० सिरिज भएको हो। लिग–२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।
प्रतिक्रिया