काठमाण्डु – बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा पनि देखा परेको छ । बेलायतबाट फर्केका तीन जना नेपालीमा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणको क्रममा ३ जनामा मिल्दोजुल्दो लक्षण देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकरी दिए ।
डा. पाण्डेले बेलायतबाट फर्किएका ७ जनामा कोरोना पोजेटिभ देखिएको भएतापनि तीन जनामा मात्रै परिवर्तित कोरोनाको शंकास्पद संकमित देखिएकाले उनीहरुको नमुना थप परीक्षणका लागि हङकङ पठाउने तयारी गरिएको जानकारी दिए ।
‘जानकारीमा आएअनुसार तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ । उहाँहरु शंकास्पद हुनुहुन्छ’, डा. पाण्डेले भने, ‘त्यसलाई निर्क्यौल गर्न हङकङ पठाउने काम भइरहेको छ ।’
पहिलो पटक बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक भएको विज्ञहरुले बताएका छन् । बेलायतबाट सुरु भएको उक्त नयाँ प्रजातिको कोरोना भारत, पाकिस्तान लगायत अन्य धेरै देशहरुमा फैलिसकेको छ ।




प्रतिक्रिया