काठमाण्डु – एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
सिंगापुरमा जारी खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे भने रोहित पौडेल २१ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाएका थिए।
एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको लक्ष्य दिएको छ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अली अकबरले २२ रन र अब्दुलजलिल खानले १६ रन बनाए।
यस्तै, नेपालका तर्फबाट करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।
अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ। हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ।




प्रतिक्रिया