नेपालमा समातिएका व्यक्ति छुटाउन आफन्तले सुस्मा स्वराजलाई गुहारे


एजेन्सी – गत वैशाख २७ गते राति ११ बजे काठमाडौंको याक एण्ड यति होटलमा पक्राउ परेका भारतीय नागरिकका आफन्तले उनीहरुलाई छुटाउन भारतको विदेश मन्त्रालयलाई गुहारेका छन् ।

हिन्दुस्तान टाइम्सले पक्राउ परेकाहरु भारतको लखनउ, वाराणसी, प्रयागराज, सोनभद्रालगायतका क्षेत्रका भएको जनाएको छ । उनीहरु लखनउ र अलाहबादमा रहेका निजी रियल स्टेट कम्पनीमा आवद्ध रहेको जनाइएको छ ।

‘हामीले विस्तृत रुपमा मन्त्रालयलाई लेखेका छौं । यस्तै संघीय विदेशमन्त्री सुष्मा स्वराजलाई पनि भनेका छौं । हामीले हाम्रा मानिसहरु फिर्ता ल्याउनका लागि मन्त्रालयको हस्तक्षेप चाहेका छौं,’ पक्राउ परेका गजेन्द्र सिंहका दाजु देवेन्द्र सिंहले भने । नेपाल प्रहरीको हिरासतमा रहेका अन्यमा एके सिंह, कसिफ सकिल, मोहम्मद सर्जिल, रमेश राम, सुनिल उपाध्याय, निरज कुमार मिश्र, अशोक कुमार, आयुष उपाध्याय, गिरिश उपाध्याय र विजनेश ग्रुपका मालिक रशि नसिम रहेका छन् ।

परिवारका सदस्यहरु सोमबार विदेश मन्त्रालयमा जाने तयारीमा रहेको बताइएको छ । उनीहरु तीन दिने विजनेश कार्यशालामा भाग लिन जाने क्रममा नेपाल प्रहरीद्वारा पक्राउ परेको जनाइएको छ ।

एक जना नेपालका नागरिक महेन्द्र सिंह सोही कार्यक्रममा रहेको र उनी विरुद्ध परेको उजुरीको आधारमा भारतीयलाई पनि पक्राउ गरिएको देवेन्द्रले बताएका छन् ।

देवेन्द्रले स्थानीय अदालतमा समेत सम्पर्क गरेको जनाएका छन् । महेन्द्र सिंहलाई मात्रै जिम्मेबार मान्नुपर्ने र अरुलाई कारवाही गर्न नमिल्ने उनको दाबी रहेको छ । रशिद नसिमका दाजु असिफ नसिमले विदेश मन्त्रालयलाई पठाएको पत्रमा तत्काल हस्तक्षेप गर्न भनिएको छ ।

यता काठमाडौं प्रहरीले नेटवर्किङ ठगीमा पक्राउ गरेको जनाएको छ । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले अनुसार वैशाख २७ गते शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भारतीय नागरिकहरुले गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय गरिरहेको र त्यसमा नेपालीहरुको पनि सहभागिता रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement