वैशाख १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

वैशाख १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थागित भएकामा १५ दिन थप गरी वैशाख १८ सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । आन्तरिक उडान भने वैशाख ३ सम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए ।

कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको पनि उनले बताए । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरूको विषयमा समीक्षा भएको थियो । सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ परिवारलाई राहत वितरण गरेको सचिव विडारीले जानकारी दिए ।

त्यस्तै ३० हजार ५ सय व्यक्ति अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उनले बताए । लकडाउनको अवस्थमा २ हजार ६ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरूलाई सेवा दिन देशैभर १९ सय ३९ एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारीसमेत सचिव बिडारीले गराए ।