प्रहरीका अधिकृतहरूले अब पूर्वजानकारीबिना शक्तिकेन्द्रलाई भेट्न नपाउने

प्रहरीका अधिकृतहरूले अब पूर्वजानकारीबिना शक्तिकेन्द्रलाई भेट्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपाल प्रहरीका अधिकृतहरूले अब पूर्वजानकारीबिना राजनीतिक दलका नेता तथा शक्तिकेन्द्रलाई भेट्न नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले आज परिपत्र जारी गर्दै आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्वस्वीकृतिबिना शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक लगाएको हो ।

माथिल्लो कार्यालय र कर्मचारीको पूर्वस्वीकृतिबिना अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गरी परिपत्र उल्लंघन गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने पत्रमा उल्लेख रहेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालयमा रहेका एक अधिकृतले जानकारी दिए ।

‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्तिकेन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्वस्वीकृति लिएर गरिने सम्पर्कबाहेक संगठनको मूल्यमा व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनै पनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनै पनि प्रहरी कर्मचारी संलग्न रहेभएको पाइएमा त्यसलाई नै प्रमाणका रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने,’ परिपत्रमा उल्लेख छ । प्रधान कार्यालयले यो विषय कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाइ सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्न अनुरोधसमेत गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरुले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेता रकार्यकर्ताको दबाब आएपछि परिपत्र जारी गर्नु परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि यस्तै किसिमको समस्या देखिएपछि सशस्त्र प्रहरीले पनि मातहतका कर्मचारीलाई पूर्वअनुमतिविना बाहिरी भेटघाट बन्द गर्न आदेश जारी गरेको थियो ।