काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक राखेका छन्। यो बैठक बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने गरी डाकिएको छ।
त्यसका लागि अहिले सातै प्रदेशका प्रहरी प्रमुखहरू काठमाण्डु आइपुगेका छन्। यस बैठककको अध्यक्षता आईजी कार्कीले गर्छन् । बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीलाई सहभागी गराइँदैछ।
यस बैठकमा नेपाल प्रहरीका नीतिगत विषयबारे छलफलसहित निर्णय लिने गरिन्छ। तर अहिलेसम्म आजको बैठकका एजेन्डाबारे केही खुलाइएको छैन।
बुधबार मात्रै कार्कीले देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखसहितसँग लामो भर्चुअल संवाद गरेका थिए । त्यस बैठकमा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहभागी थिए
उक्त भर्चुअल बैठकमा कार्कीले केही प्रहरी अधिकारीहरूको नामै लिएर संगठनमा अनुशासनहीनता बढेको भन्दै आक्रोश पोखेका थिए । त्यसक्रममा उनले एनपीएलमा हुने सट्टेबाजी तथा तिहार र छठमा हुन सक्ने अपराध नियन्त्रणमा गम्भीर भएर लाग्न निर्देशन दिएका थिए।
अर्कातिर आईजीपी कार्की र एआईजी राजन अधिकारीसँग बिचौलिया भनिएका इनाम सपकोटासँग सम्पर्क देखिएको कुरालाई प्रधानमन्त्री वालेन्द्र शाहले गम्भीर रुपमा लिएको बताइएको छ।
त्यहीकारण प्रम शाह बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । जहाँ उनीहरूबीच ६ घण्टा लामो संवाद भएको थियो ।
उक्त भेटवार्तामा रास्वपा सांसद खगेन्द्र सुनार र प्रहरी नेतृत्वसम्बन्धी छलफल भएको थियो । बालेनले आईजीपीलाई हटाउनु पर्ने कुरा रविसँग राखेको स्रोतको दाबी छ । उता आचरणहीन काममा संलग्न भएको आरोपमा सुनारलाई पनि राजीनामा गराउनुपर्ने कुराबारे बैठकमा छलफल भएको थियो ।
अब आईजीपी कार्कीले डाकेको पीसीसी बैठकमा उक्त विषयले प्रवेश पाउने सम्भावना बलियो छ। बैठकको औपचारिक कार्यसूचीसमेत सार्वजनिक नभएको अवस्थामा दबाबमा रहेका आईजीपी कार्की सम्भावित कदमबारे छलफल गर्ने बताइएको छ।


प्रतिक्रिया