काठमाडौं – प्रहरी अधिकृतहरुको एक साताको तलब कोरोना रोकथाम कोषमा जम्मा गर्न प्रहरी प्रधान कार्यालयको निर्देशनले प्रहरी संगठनभित्रै असन्तुष्टी बढेको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरी अधिकृतहरुले एक साताको तलब कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । तर, प्रहरी संगठनभित्रका अधिकारीहरुले नै असन्तुष्टी पोखेको स्रोतले जानकारी दियो ।
संगठनभित्र असन्तुष्टी बढेसँगै सामाजिक सञ्जालमा पनि सरकारको तीव्र आलोचना भइरहेको छ ।
यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले नेपाल प्रहरीले विगतमा पनि विपतका बेला मानवीय भावनाले सहयोग गर्ने गरेको उदाहरण दिँदै स्वइच्छाले सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
‘विगतमा पनि नेपाल प्रहरीले सहयोग गर्दै आइरहेको छ । देश विपतमा परेका बेला हाम्रो संगठनले पनि सानो सहयोग गरौं भन्ने भावनाले सहयोग गरिएको हो’, प्रवक्ता जोशीले काठमाडौंपाटीसँग कुरा गर्दै भने ।
जोखिम मोलेर देश र जनताको सेवा खट्ने प्रहरीमाथि थप अन्याय भएको भन्दै संगठनभित्र असन्तुष्टी बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते राष्ट्रको नाममा सम्बोधन गर्दै सुरक्षाकर्मीका लागि विशेष भत्ताको व्यवस्था गरेको जानकारी दिएका थिए ।
प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूहरुले एक महिनाको पारिश्रमिक शुरूमै दिने निर्णय भएर जम्मा पनि भइसकेको छ । त्यस्तै सांसदहरुले १५ दिनको तलब दिएका छन् । प्रधानमन्त्रीको सचिवालयबाट सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।





प्रतिक्रिया