एआईजीमा बढुवा भएका शाही र कार्कीलाई आईजीपीबाट दर्ज्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका शाही र कार्कीलाई आईजीपीबाट दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले अन्य दुई जना अधिकृतहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रीपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार उनीहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् ।

साथै दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी उपरीक्षकहरुमा पशुपति कुमार राय र श्याम कुमार मण्डल रहेका छन् । नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णय अनुसार उनीहरु नेपाल प्रहरीको सूचना प्रविधितर्फको प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति भएका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्रहरी अधिकृतहरुबाट आ–आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको बताए । आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आफुहरु पदोन्नति पश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताए । संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाईमा लैजान मन, वचन र कर्मले कटिबद्ध रही काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।