प्रहरी सेवाको उत्तरार्धमा ‘अस्वस्थ चलखेल’ : एआईजी ज्ञवालीको नियुक्ति कानुनसम्मत भएको गृहको राय

प्रहरी सेवाको उत्तरार्धमा ‘अस्वस्थ चलखेल’ : एआईजी ज्ञवालीको नियुक्ति कानुनसम्मत भएको गृहको राय


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह यही शनिवार अनिवार्य अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण उनी अवकाशमा जाँदैछन् । सिंह अवकाशमा जानुअघि सरकारले भावी प्रहरी नेतृत्वबारे निर्णय लिनुपर्छ । सरकारले शुक्रवार मन्त्रिपरिषद् बैठकबाट आईजीपीबारे निर्णय लिनुअघि ‘अस्वस्थ चलखेल’ देखिएको छ ।

चलखेलको पहिलो शिकार बनिसकेका छन् अशोक सिंह । आईजीपीको प्रमुख दाबेदार मानिएका सिंह विवादमा तानिएपछि उनले डीआईजीबाटै राजीनामा दिनुप¥यो । प्रहरी नेतृत्वको दौडबाट तह लगाउन सिंहको उमेर विवाद झिकिएको थियो । यद्यपी उनको शैक्षिक योग्यतामा समेत समस्या थियो भन्ने प्रमाणका आधारमा उनले राजीनामा दिनुपरेको बताइन्छ ।

यतिबेला एआईजी श्यामलाल ज्ञवालीलाई विवादमा तान्ने काम भइरहेको छ । सरकारले आईजीपी नियुक्ति सम्बन्धमा निर्णय लिनुभन्दा ४ दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्र लेखेर ज्ञवालीमाथि छानबिन गर्न निर्देशन दिएको छ ।

अख्तियारको पत्रमा ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना भएकै प्रक्रियामाथि प्रश्न उठाइएको छ । प्रहरी सेवामा भर्ना भएर विभिन्न प्रक्रियामार्फत बढुवा भई नेतृत्व सम्हाल्ने दौडमा रहेका पदाधिकारीको शुरू भर्ना प्रक्रियामै प्रश्न उठ्नुलाई आश्चर्यका साथ हेरिएको छ । झन् आईजीपी नियुक्तिको उत्तरार्धमा अख्तियारको अतिरिक्त सक्रियता पनि चाखलाग्दो छ । झन् अत्यन्त जरुरी र गोप्य भनिएको पत्र बाहिर सार्वजनिक नै भइसकेको छ ।

२०७९ चैत ६ गते प्रेषित पत्रमा लेखिएको छ, ‘प्रारम्भिक छानबिनका क्रममा निज श्यामलाल ज्ञवालीको जिल्ला प्रशासन कार्यालय प्युठानबाट मिति २०४१\१२\२१ मा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर १७ वर्ष भनी उल्लेख भएको, जसबाट जन्ममिति गणना गर्दा निजको जन्ममिति २०२४\१२\२१ हुन आउने देखिन्छ । प्रहरी नियमावली, २०४९ (दोस्रो संशोधनसहित) को नियम १३ को उपनियम (१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा छनोट हुने खालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको व्यक्तिहरूले भाग लिन सक्नेछन् भन्ने व्यवस्था भएको देखिन्छ । मिति २०५०\०८\०१ मा गोरखापत्रमा प्रकाशित प्रहरी निरीक्षक पदको लागि भएको दरखास्त आह्वानमा समेत छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको देखिन्छ । निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्र बमोजिम उक्त छनौट हुने साल (वि.सं. २०५०) को वैशाख १ गते २५ वर्ष ९ दिन हुन आउने देखिन्छ । अतः यस सम्बन्धमा के, कसो भएको हो ? सो सम्बन्धमा तहाँ मन्त्रालयबाट यथाशीघ्र छानबिन गरी प्रस्तुत पत्र प्राप्त भएको मितिले १ (एक) महिनाभित्र तहाँ मन्त्रालयको स्पष्ट राय सहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगको महाशाखा नं. ३ मा उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।’

ज्ञवालीको नागरिकता प्रमाणपत्रमा पूरै मिति उल्लेख छैन । २०२४ साल मात्रै उल्लेख छ । नागरिकता प्रमाणपत्र जारी भएको मितिका आधारमा २०२४ चैत २१ गते जन्ममिति मानिएको छ । उनको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२५ भदौ २६ गते उल्लेख छ । उनको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको मिति पूरै र स्पष्ट भएकाले त्यसैलाई आधार मान्दा उनको उमेरबारे कुनै विवाद रहँदैन । शैक्षिक प्रमाणपत्रको आधारमा २०५० सालको वैशाख १ गते ज्ञवालीको २५ वर्ष पूरा भएको पाइँदैन ।

प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ ।

रोचक कुरा त के छ भने यत्रो वर्ष ज्ञवालीले प्रहरी सेवामा कार्यरत रहँदा भर्नाको आधार र उमेरबारे कुनै सोधिखोजी भएन । जब उनी प्रहरी नेतृत्व नजिक पुगे, तब विवाद सिर्जना गरेर सतहमा ल्याइएको छ । ‘उमेरमा साँच्चिकै समस्या हुन्थ्यो भने प्रहरीभित्र उहिल्यै छानबिन भइसक्थ्यो,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘यतिबेला उहाँलाई आईजीपी हुनबाट रोक्न मात्रै उमेरको विवाद सिर्जना गरिएको हो ।’

ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुंदा कायम रहेको नियमावलीअनुसार उनको उनको भर्नामा कुनै त्रुटि नरहेको निष्कर्श गृहमन्त्रालयले निकालिसकेको छ । गृहको कानुन हेर्ने महाशाखा प्रमुखले उक्त राय प्रधानमन्त्रीलाई समेत दिइसकेका छन् ।

सरकारले हालै डीआईजीबाट एआईजीमा बढुवा गरेका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपी बन्न सक्छन् । यीमध्ये सरकारले नियुक्त गरेको व्यक्ति भावी आईजीपी बन्नेछन् । सर्वाेच्च अदालतले स्थापित गरेको नजिरअनुसार आईजीपी नियुक्त गर्ने सर्वाधिकार मन्त्रिपरिषद् बैठकमा छ ।

तैपनि नयाँ आईजीपीका लागि कुँवर र ज्ञवालीको सम्भावना सबैभन्दा बलियो छ । त्यसपछि बज्रचार्य दौडमा छिन् । ज्ञवाली र बज्रचार्य दुवै नेपाल प्रहरीमा उच्च व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् । ज्ञवालीलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अधिकांश नेताहरूको साथ छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत आईजीपी नियुक्ति प्रधानमन्त्रीको अधिकार भएकाले जसलाई नियुक्ति गर्दा पनि आपत्ति नहुने सन्देश दाहाललाई दिइसकेको स्रोत बताउंछ ।

प्रधानमन्त्री दाहालले ज्ञवालीलाई नै अघि बढाउने तयारी गरेका छन् । दाहालले उनलाई अघि बढाउन खोजेसंगै ज्ञवालीको नियुक्ति विवादमा ल्याउने प्रयास भइरहेको बताइन्छ ।