काठमाण्डु – प्रहरीले बैतडीकी भागरथी भट्टका हत्यारालाई पक्राउ गरेको छ । माघ २१ गते जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको स्थानीय १६ वर्षीय युवकबाट हत्या भएको थियो ।
नाताले भाई पर्ने दिनेश भट्टले पारिवारिक रिसिबी साँध्न भागरथीको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले माघ २१ गते विद्यालयबाट २ विषयको पढाई छोडेर निस्किएको र स्थानीय लवलेक सामुदायिक वनमा बाटो ढुकेर हत्या गरेको स्वीकार गरेका हुन् ।
१३ दिन बितिसक्दा पनि हत्यारा पक्राउ नगरेको भन्दै प्रहरीको कार्यशैलीमाथि नै प्रश्न उठ्न थालिसकेको थियो । हत्यारा पत्ता नलागाएको भन्दै नागरिक समाज, मानव अधिकारकर्मी, विद्यार्थीलगायतले सरकारलाई विभिन्न ठाउँबाट दबाब दिँदै आइरहेका थिए । त्यस्तै परिवारले हत्यारा पत्ता नलागेसम्म भागरथीको अन्त्येष्टी गर्न मानेको थिएन ।
मंगलबार महिला वकिलहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर भागरथीका हत्यारालाई पहिचान गरेर कडा कारबाहीको माग गरेका थिए । जवाफमा गृहमन्त्री बादलले भागरथीको हत्या निर्मला पन्तको जस्तो जटिल नभएको भन्दै चाँडै हत्यारा पक्राउ गर्ने बताएका थिए । त्यसको साँझ नै प्रहरीले भागरथीका हत्यारालाई पक्राउ गरेको हो ।
चौतर्फी दबाबका बाबजुद प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको थियो । सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तामराज सुवेदी आफैं फिल्डमा खटिएका थिए ।
भागरथी हत्या प्रकरण कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तसँग जोडेर हेरिएको छ । सरकारले निर्मलाका हत्यारालाई संरक्षण गरेर राखेको राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले आरोप लगाइरहेका छन् । यता नेपाल प्रहरीले भने निर्मलाका हत्यारालाई खोजी गर्ने काम भइरहेको बताएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले निर्मलाका हत्यारालाई चाँडै पत्ता लगाउने बताउँदै आएका छन् ।
त्यस्तै निर्मला हत्या प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा बादलले पनि सोही भनाई दोहोर्याउँदै आइरहेका छन् । यता निर्मलाका परिवारले छोरीका हत्यारा पत्ता नलाग्ने छाँटकाँट देखेपछि आफूहरुले आशा मारेको बताउँदै आइरहेका छन् । तर, भागरथीका हत्यारा पत्ता लगाएर फर्किएका डीआईजी सुवेदीले भने चाँडै निर्मलाका पनि हत्यारा पत्ता लगाउने विषयमा आफू विश्वस्त रहेको बताए ।
‘दुःखका साथ भन्नुपर्छ विगतमा कञ्चनपुरमा घटेको निर्मला पन्तको बहिनीको बलात्कारपछि हत्या घटना जो अहिलेसम्म अनुसन्धान भइसकेको छैन । त्यो अवस्थाले गर्दा सर्वसाधारणमा भागरथी प्रकरण पनि त्यस्तै हुने हो कि भन्ने आशंका र नेपाल प्रहरीप्रति पनि विभिन्न शंका उत्पन्न भएको अवस्थामा हामीले यो केसलाई किनारा लगाएर नेपाल प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राख्दैन् भन्ने दृष्टान्त दिएका छौँ’, उनले भने, ‘निर्मला पन्तको घटना पनि चाँडो भन्दा चाँडो अनुसन्धान सकिएर दोषी कारवाहीको दायरामा आउने विश्वास लिएको छु ।’
डीआईजी सुवेदीले कुनै पनि घटनामा स्थानीय नागरिक, राजनीतिक दल, पत्रकार, जनप्रतिनिधिलगायतको सहयोग पाए जस्तोसुकै अपराधीलाई पक्राउ गर्न सकिने कुरामा आफूहरु विश्वस्त रहेको बताए । यस्ता अपराधिक घटनामा कसैको दबाब नपरेको खण्डमा अपराधी पत्ता लगाउन समस्या नहुने उनको तर्क छ ।
‘विगतको मेरो व्यक्तिगत अनुभव र संगठनको अनुभवका आधारमा म पनि दृढ विश्वासमा थिए । आज त्यो विश्वासले नै हामीलाई सफलता मिलेको छ । यो अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ सहयोग पाईयो’, उनले भने, ‘यसले एउटा के दृष्टान्त देखायो भने प्रहरीले स्वतन्त्र रुपमा काम गर्न पाए चाँडै नै अभियुक्तलाई कानूनको दायरामा ल्याउन सक्छ ।’




प्रतिक्रिया