काठमाण्डु – नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफरिस भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले रिक्त रहेको पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो ।
डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।
हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरुमध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
यसअघि समितीले बसन्त लामालाई एक दिनका लागि एआइजी पदमा बढुवा गरेको थियो । लामा ८ जेठबाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन् ।





प्रतिक्रिया