भगवान भरोसामा सडक यात्रा

भगवान भरोसामा सडक यात्रा

साबेल र कोदालो बोकेर हिँड्छन गाडीहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरू यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभई ठूला ढुंगाहरू खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुद लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरूले सेवा दिइरहेका छन् ।

बर्षामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिँड्नु परिरहेको अनुभव सवारी चालकहरूले सुनाउने गरेका छन् । जोखिमपूर्ण र कठिन यात्रा गर्ने गरेको चालकहरू बताउँछन् ।

काठमाण्डु–सिन्धुपाल्चोक चल्ने अरनिको सुपरएक्प्रेसका चालक अशोक सापकोटा सिन्धुपाल्चोकको टिमुरे रतनपुरसम्म यात्रु लिएर ओहोरदोहोर गर्दा ज्यान जोखिममा मात्र होइन पहिरो पन्छाउन बेल्चा वा कोदालो पनि साथै बोकेर हिड्ने गरेको बताउँछन् ।

सुनकोसी गाउँपालिका भित्रका सडक मार्गहरू सामान्य भएपनि पहिरोले दुःख दिइरहने गरेको उनी बताउँछन् । पहिरो जाँदा आफैं कोदालोले पहिरो पन्छाउने गरेको उनी सुनाउँछन् ।

उनले भने, ‘सुनकोसी गाउपालिका ठाउँ राम्रो छ तर बाटो समस्यापूर्ण छ । पालिकाले बाटो दशै लागेपछि मात्र सोर्ने काम गर्छ । अहिले पहिरो जाँदा पालिकाको डोजर आउँदैन अपरेटर छैन भन्छ । त्यही भएर हामी बसमा भएको साबेल वा कोदालो प्रयोग गर्छौ । यात्रुहरू पनि ढुङगा पन्छाउने गर्छन् ।’

सापकोटा काठमाण्डुबाट बस उपत्यका बाहिर निस्कने बित्तिकै धुलिखेल जिरोकिलो लगायतका ठाउँसँगै सिन्धुपाल्चोकका गाँउका सडकहरू जोखिमपूर्ण रहेको बताए ।

‘हामी बसमा करिब पाँच घण्टा यात्रा गर्छौ । दोलालघाट, खाँडीचौर, बन्देउ, जिरोकिलो जस्ता ठाँउहरू जोखिमपूर्ण छन् । उता बाह्रबिसे पछि जुरेको पहिरोको समस्या छ । तातोपानी नाकाका कारण त्यस क्षेत्रको सडकमा पहिरो जाँदा भने एकदुई घण्टामा खुल्छ,’ उनले भने ।

यस्तै, भैरहवा–काठमाण्डुसम्म बस हाँकिरहेका समुन्द्र शेरचन पानी पर्ने बित्तिकै नारायणगढ–बुटबलसम्मको सडक र दाउन्ने, डुम्कीबाँसदेखी बर्घाटसम्मको यात्रा गर्न कठिन हुने बताउँछन् ।

उनले भने, ‘हिजोआजको यात्रा निकै कठिनपूर्ण छ । यात्रुदेखि गाडीबालाहरू जोखिमको यात्रा गर्न बाध्य छन् । नेपालका सडकमार्गहरू मृत्युमार्ग जस्ता छन् । हामी सँधै यात्रा गर्ने मुग्लिन–काठमाण्डु सामान्य रहेपनि नारायणगढ–बुटवलसम्मको बाटो र दाउन्ने–डुम्कीबाँसदेखि बर्दघाटसम्मको सडकमा यात्रा गर्न कठिन छ । पानी पर्ने बित्तिकै जाम हुन्छ । जसले यात्रु र चालक दुबैलाई असुविधा हुन्छ ।’

यता, सरकारले वर्षा याममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्वतयारी गरेको दाबी गरेको छ । हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अबरुद्ध हुँदै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षायाममा राष्ट्रिय राजमार्गहरू चार घण्टाभन्दा बढी अवरोध हुन नदिने गरी तयारी गरेको भएपनि त्यो प्रभावकारी नदेखिएको चालकहरूको गुनासो छ ।

राष्ट्रिय राजमार्ग अवरुद्ध भए सडक विभाग मातहतको सम्भार महाशाखाले पुनर्निर्माणको काम तत्काल गर्नेगरी ९ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ । बीपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्ग, पृथ्वी राजमार्ग बढी जोखिममा छन् ।